लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत तीन संक्रमितको मृत्यु

   ३० चैत्र २०७७, सोमबार १२:२८  

३० चैत, रौतहट । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारतत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेमा अर्घाखाँची, रुपन्देही र कपिलवस्तुमा गरी ३ जनाको मृत्यु भएको छ ।

अर्घाखाँची, मालारानी गाउँपालिका वडा नम्बर ५ बस्ने ७९ वर्षीय वृद्ध महिलाको आज बिहान करिब ७ः४५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा. विष्णु गौतमले जानकारी दिए ।

उनी ज्वरो र दमको समस्याका कारण चैत २७ गते नै उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ बस्ने ७१ वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी, कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ३ बस्ने ७९ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएसंगै उपचारका लागि अस्पताल भर्ना भएका वृद्धको आजै बिहान सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको गौतमले बताए ।