अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ
द नेपाल मिडिया
२१ चैत्र २०७७, शनिबार १३:०१
२१ चैत, रौतहट । त्रिभुवन विमानस्थलबाट जुत्तामा आधा किलो सुन लुकाएको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बस्ने ३८ बर्षीय विष्णु भण्डारी र सुन रिसिभ गर्न गएका काभ्रेका कमल कृष्ण केसी रहेको प्रहरीले जनाएको छ । फ्लाई दुबईबाट काठमाडौं आएका भण्डारीको साथबाट ५ सय १६ ग्राम अवैध सुन बरामद भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जनाए ।
भण्डारीबाट सुन रिसिभ गर्न गएका काभ्रे मण्डनदेउपुरका केसीलाई अपराध महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले पार्किङबाट नियन्त्रणमा लिएको हो । भण्डारी जुत्तामा लुकाएर ल्याएको चारवटा बिस्कुट र एउटा बाला भेटिएको बास्तोलाले बताए ।
पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।