झुण्डिएको अवस्थामा दुई जना फेला
२१ चैत, रौतहट । सुर्खेतमा झुण्डिएको अवस्थामा दुई दिदीबहिनी फेला परेका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका वडा नम्बर ६ बाबियाचौरमा बस्दै आएका १४ र १५ वर्षीय दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार नै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जनाए ।
शुक्रबार बिहान करिब ८ बजेतिर घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका दुवै जनालाई त्यहीँ करिब ११ बजेतिर झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो । झुण्डिएको अवस्थामा शव फेला परेको खबर प्राप्त हुनसाथै घटनास्थलमा प्रहरीको टोली पुगेको घर्तीले बताए ।
घर्तीका अनुसार उनीहरू दुवै जना आफ्नो सानीआमा कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया बालिका कक्षा ८ मा पढ्दै आएका प्रहरीले जानकारी दिए । उनी दुवै जना कमला बादीकी दिदीका छोरीहरू रहेका हुन् ।
शवलाई पोष्टमार्टमको लागि प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए ।