१० हजार फिटमाथि सम्म नेपालमा इन्टरनेट प्रयोग गर्न सकिने
१८ चैत, रौतहट । नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने भएको छ । १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने गरी प्राधिकरण बोर्डले हालै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
गत चैत ९ गेत बसेको प्राधिकरण बोर्डको बैठकले यो विषयमा निर्णय गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताएका छन् । पौडेलका अनुसार प्राधिकरण बोर्डले हवाई जहाजभित्र प्रयोग हुने ईन-फ्लाईट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन दिने कम्पनीहरुलाई स्वीकृति पत्र दिने निर्णय गरेको छ ।
यदि कुनै कम्पनीले त्यसरी सेवा दिन इच्छुक रहेको निवेदन दिएमा नो अब्जेक्सन लेटर (एनओसी) उपलब्ध गराउने निर्णय भएको उनले बताए ।
योसँगै नेपाल दक्षिण एसियामा १० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उपलब्ध गराउने तेस्रो देश भएको छ । हाल अफगानिस्तान र भारतमा पनि यस्तो सेवा सञ्चालनमा छ ।
यसअघि प्राधिकरणमा विभिन्न कम्पनीले आवेदन दिएका थिए । तर, यो विषयमा आवश्यक कुनै नीति हुँदा स्वीकृती प्रदान गर्न सकिएको थिएन ।
प्राधिकरणका अनुसार ६ महिनाअघि थालस इंकले पहिलोपटक प्राधिकरणमा १० हजार फिटमाथि आकाशमा उड्ने विमानमा इन्टरनेट चल्ने बनाउन स्वीकृति मागेको थियो ।
दूरसञ्चार सेवा प्रदान गर्ने भन्दै सो कम्पनीले निवेदन पेश गरेको थियो ।
योसँगै नेपालको १० हजार फिटमाथि आकाशमा उड्ने विमानमा यात्रा गर्ने यात्रुले इन्टरनेट र टेलिफोनको मज्जा लिन पाउने भएका छन् ।
प्रवक्ता पौडेलेका अनुसार प्राधिकरणले यसका लागि केही शर्त भने तोकेको छ । जसमा स्वीकृति लिन चाहने कम्पनीले विदेशमा वायु सेवा प्रदान गर्ने अनुमति पाएको हुनुपर्ने छ । त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणबाट पनि सेवा सञ्चालनको अनुमति लिनुपर्ने हुन्छ ।