सिराहा मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा दुई जना पक्राउ
१८ चैत, रौतहट । सिराहा मालपोत कार्यालयमा बम विस्फोटमा संलग्न दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिराहाको सुखिपुर नगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय अभिमन्यु गिरी रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको लहान नगरपालिका वडा नमबर ८ मा रहेको मालपोत कार्यालयको पहिलो तलाको दर्ता चलानी शाखानजिकै गत चैत १ गते प्रेसर कुकर राखिएको बम विस्फोट हुँदा आठजना घाइते भएका थिए । प्रेसर कुकर बम विस्फोटका घटनामा संलग्न रहेको भन्दै प्रहरीले घटनाको १६ दिन पुगेपछि मुख्य अपराधीहरू नियन्त्रणमा लिएको दाबी गरेका छन् ।
मालपोत कार्यालय भूमाफियालाई सहयोग गरिरहेको र पटकपटक चेतावनी दिँदा पनि सुधार नआएकोले जनतान्त्रिक तराई मुक्ति मोर्चा (जयकृष्ण गोइत समूह)को निर्देशनमा बम विस्फोट गराएको पक्राउ परेका दुवैजनाले स्वीकार गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए । बम विस्फोटपछि घटनास्थलमा गोइत समूहका पर्चा पनि बरामद भएको थियो ।
घटनामा संलग्न दुवैलाई खोजी गर्दैगर्दा प्रदेश प्रहरी कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको प्रेस विज्ञप्ति जारी गरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।