महोत्तरीबाट बेपत्ता भएका ७ जना सितामढीमा भेटिए

   १८ चैत्र २०७७, बुधबार १२:३६  

१८ चैत, रौतहट । घाँस काट्न जाँदा हराएकी ५ किशोरीसहित ७ जना भारतको सितामढीमा भेटिएका छन् ।

महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि नै बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

घाँस काट्न सँगै गएका भंगहा नगरपालिका ७ धर्मपुरकी ७ की १८ वर्षीया नगिना पासवान, सोही उमेरकी अस्मिता पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी ज्योती पासवान, १३ वर्षीया अर्चना पासवान, १० वर्षीय रन्जना पासवान र सोही उमेरकी सीमा पासवान हिजो देखि नै बेपत्ता भएका थिए ।

मंगलबार दिउँसोदेखि बेपत्ता भएका उनीहरूलाई भारत बिहारको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई बताएका थिए ।

५ किशोरीसहित ७ जना बेपत्ता भएका खबर प्राप्त हुनसाथै प्रहरीको एक टोली र उनीहरुको अभिभावक बालिकाहरुको फोटोसहित सितामढी प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताएका हुन् ।

भट्टराईका अनुसार फेला परेकी उनीहरु हाल भारतीय प्रहरीको निगरानीमा रहेकी छन् । घाँस काट्न गएपछि बालिका कसरी बेपत्ता भएर सितामढीसम्म पुगे भन्ने कुरा हालसम्म खुल्ल सकेको छैन् ।

यसबारे थप अनुसन्धान सुरु गरिएको समेत भट्टराईले जानकारी दिए ।