करोडौं रकम लिएर साह फरार
१३ चैत, रौतहट । रौतहटका विभिन्न व्यक्ति र सँस्थाको एक करोड भन्दा बढी रकम लिएर रौतहट यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष तथा रौतहट बस व्यवसायी संघका कोषाध्यक्ष मनोज साह फरार भएका छन ।
राजदेवी नगरपालिका ब्रह्मपुरी घर भइ हाल चन्द्रनिगाहपुर बस्दै आएका साह पौष २४ गते देखि सम्पर्क बिहिन भएका हुन । बस व्यवसायीका रुपमा गौर, चन्द्रनिगाहपुर तथा पोखरामा समेत बस्दै आएका साह तिन महिना देखि सम्पर्क विहिन भए पछि रौतहटका १५ भन्दा बढी व्यक्ति तथा संस्था मारमा परेका छन ।
माँ अन्नपूर्णा बसका संचालक रहेका साह चन्द्रनिगाहपुरमा रहेको घर तथा बस समेत बेचेर बेपता भएका हुन । साहले सबैभन्दा बढी साथी बचत तथा ऋण सहकारीको संस्थाको १३ लाख रुपैंया ऋृण लिएका छन भने विभिन्न व्यक्तिको गरी झण्डै १ करोड १० लाख रुपैंया लिएको देखिन्छ । रकम लिएर नतिर्ने नीयतका साथ साह कतै लुकेर बसेको हुन सक्ने संभावना रहेको पीडितहरुले बताएका छन ।
बस व्यवसायी साहबाट पीडित बनेकाहरुले फरार रहेका साहको खोजी गरि आफ्नो बाँकी बक्यौता रकम उठाइदिन सम्बन्धीत निकायसँग माँग गरेका छन । उनीहरुले व्यक्तिगत र सामुहिक रुपमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी गरेको पीडित मध्येका एक प्रमोद मुखियाले बताए ।