कावासोतीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

   ६ चैत्र २०७७, शुक्रबार ११:२०  

६ चैत, रौतहट । नवलपुरको कावासोतीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा बिहीबार गए राति भएको स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार खरकट्टा जङ्गलमा भएको दुर्घटनामा कावासोती नगरपालिका वडा नम्बर २ बस्ने ३५ वर्षीय जीवन रानाको मृत्यु भएको हो ।

लु५८प ७०४८ नम्बरको स्कुटर लडेर चालक गम्भीर घाइते भएको सूचना प्राप्त हुनसाथै प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेको रानालाई हिजो राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याएको थियो ।

जिल्ला अस्पतालमा उपचार समभव नभएपछि, घाइते रानालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएकामा पुरानो मेडिकल कलेजले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार हाल दुर्घटनाको कारण खुल्न सकेको छैन् । यसबारे थप अनुसनधान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जनाए ।