फर्निचर मेलामा घट्यो व्यापार
चैत्र ४, रौतहट । नेपाल विश्वकर्मा संघ रौतहटको आयोजनामा रौतहटको जयनगरमा चलिरहेको फर्निचर मेलामा व्यपार निकै सुस्त भएको छ ।
शिवरात्रीको बेला पारेर लगाइने यो फर्निचर मेलामा रौतहट, बारा तथा सर्लाहीका व्यापारीहरु तथा लोहारहरुले उत्पादन गरेको फर्निचर तथा औजारहरु राखिएको छ ।
व्यपारीहरुले बनाएका काठका विभिन्न फर्निचर तथा फलामका औजारहरु उपभोक्ताले एकै स्थानबाट खरीद गर्न पाउने गरी नेपाल विश्वकर्मा संघ रौतहटले प्रत्येक वर्ष गरुडाको नगरपालिकाको जयनगरमा फर्निचर मेला लगाउने गरेको छ । राजमार्गको छेउमै रहेको यो मेलामा विगत वर्ष भन्दा कम उपभोक्ताहरु आएको व्यापारीहरु बताउछन । कोविड १९ तथा भारत सँगको सिमानाका बन्द भएका कारण पनि व्यापार ओरालो लागेको उनीहरुले बताए ।
मेलामा काठका फर्निचरहरुमा बक्स पलङ्ग, सादा पलङ्ग, खाट, डाइनिङ्ग टेबल, दराज, झ्याल, ढोका, कुर्सी, टेबल लगायतका सामाग्री राखिएको छ भने फलामका बन्चरो, कोदालो, हसीयाँ, खुकुरी लगायतका अन्य कृषि औजारहरु रहेका छन । पसलमा खरीद गर्न जादा सिमित फर्निचर हुने तर यहाँ आफूले विभिन्न डिजाइनका फर्निचर रोजेर खरीद गर्न पाउने भएकोले उपभोक्तालाई यस बजारले सजिलो अवसर दिएको तर उपभोक्ताहरु खरिदको लागी नआउदा राम्रो व्यवसाय हुन नसकेको व्यापारीको गुनासो छ ।
पहिले जिल्ला बाहिरका उपभोक्ताहरु पनि आएर मेलामा आफुलाई चाहिने काठ तथा फलामका सामान खरिद गर्ने गरेको भए पनि यस बाहिरका खरिदकर्ताहरुको खासै उपस्थीति नभएको व्यापारी जयमंगल ठाकुरले बताए ।