लहान बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो

   २ चैत्र २०७७, सोमबार ०८:११  

२ चैत, रौतहट । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार भएको बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गरेर घटनाको जिम्मा लिएका हुन् ।

विज्ञप्तिमा भ्रष्टाचार उन्मूलन गर्न मोर्चाले बम विस्फोट गराएको उल्लेख छ । विस्फोटको कारण नेपाल सरकार र प्रदेश सरकार रहेको भन्दै सजन व्यक्तिलाई अपराधी भन्नु सरकारको गल्ती रहेको उल्लेख गरिएको छ । तराईमा भ्रष्टाचार उन्मूलन अभियानअन्तर्गत मोर्चाले विस्फोट जनाएको हो ।

जयकृष्ण गोइत नेतृत्वको भूमिगत समूहका नेता रामविलास यादवले आइतबार उक्त समूह छाडे। गोइतको ‘सेकेन्ड म्यान’ भनेर चिनिने यादव जिल्ला प्रशासन कार्यालय सिरहामा बिहान साढे १० बजे कानुनमन्त्री लीलानाथ श्रेष्ठको रोहवरमा सार्वजनिक भए। त्यसको केही घण्टामै लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा बम विस्फोट भयो।

विस्फोटमा परेर मालपोत कार्यालयका नायब सुब्बासहित आठजना घाइते भएका छन् । विस्फोटमा सख्त घाइते भएका दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाएको छ ।