कैलालीमा अवैध सामानसहित दुई जना पक्राउ
१ चैत, रौतहट । भन्सार छलेर ल्याएको अवैध सामानसहित कैलालीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट अवैध रुपमा ल्याएको सामानसहित भजनी नगरपालिका ५ लौवास्ता बस्ने ३७ वर्षीय रतिराम चौधरी र प्रदिप तामाङलाई शुक्रबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से १ त १५७६ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गर्दा अवैध सामान बरामद भएको थियो ।
यस्तै, ट्याक्टर चालक रतिराम र उक्त कार्यमा सहयोग र्पुयाउने प्रदिपलाई से ७ प ८१४७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट २ हजार ५ सय ९७ पिस सुट, ५० थान दरी र ५ सय ४८ मिटर कपडा बरामद भएको प्रहरीले जनाएको छ ।अवैध रुपमा भन्सार छलेर ल्याएको सामानको मूल्य करिब २१ लाख ३६ हजार ४ सय २ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
अवैध सामान, ट्याक्टर र मोटरसाइकल सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय टिकापुर कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।