कैलालीमा कारको ठक्करबाट एक किशोरीको मृत्यु, एक घाइते
२८ फागुन, रौतहट । कैलालीमा कारको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिकामा भएको सवारी दुर्घटनामा परी सोही स्थानकी अन्दाजी १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका १० पहलमानपुर स्थित कान्द्रा पुल नजिकै बा १४ च १७२२ को कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागी कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । अस्पतालमा ल्याएपनि उपचारका क्रममा पूर्णिमाको मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा घाइते भएका अर्का पैदल यात्री घोडाघोडी १० कै १५ वर्षीय गणेश रावल रहेका छन् । घाइते रावलको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, ठक्कर दिने कार र चालक प्रकाशबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका प्रकाशबहादुर चौधरीलाई हिरासदमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






