आज महाशिवरात्रिको पर्व मनाइँदै
२७ फागुन, रौतहट । आज देशभर महाशिवरात्रिको पर्व मनाइँदैछ । शिवरात्रिको अवसरमा बिहीबार बिहानै देखि देशभरका शिवालय मन्दिरहरूमा श्रद्धालुहरूको भिड लागेको छ । पूजा गर्ने तथा देवालयहरूमा दर्शन गर्ने आ–आफ्नै विधि र परम्पराहरू हुन्छन् । हिन्दु धर्मको शास्त्रीय विश्वास अनुसार केही नियमहरू छन् जुन पूरा नगर्दा फल प्राप्तिमा कमी आउँछ भन्ने मान्यता छ ।
कुनै पनि शिवालयमा दर्शन गर्न जाँदा शक्तिको दर्शन नगरी सिधै शिवको दर्शन गर्नुले फल प्राप्त नहुने बताउँछिन् । ‘शास्त्रले मूलदेवी वा देवताको पूजा गर्नुअघि आवरण देवीदेवताको पूजा गर्न सुझाउँछ । ‘
शिवालयमा दर्शन गर्ने विधि र वैष्णव मन्दिरमा पूजा गर्ने विधि फरक-फरक हुने गर्छ । तर सबै मन्दिरमा पूजा गर्ने एउटै विधि के हो भने मन्दिरमा मुख्य देवताको रूपमा रहेका भगवानलाई सबैभन्दा अन्तिममा पूजा गर्ने र सहायक देवीदेवताको रूपमा रहेका अरू देवदेवीलाई पहिले पूजा गर्नु, जुन शास्त्रीय विधि हो । उक्त विधि अनुसार मूल मन्दिर यदि पुरुष देवताको छन्, भने सबैभन्दा पहिले शक्तिको पूजा गर्नुपर्छ र यदि शक्तिको मन्दिर छ, भने त्यसअघि पुरुष देवताको दर्शन गर्नुपर्छ, भन्ने शास्त्रीय मान्यता रहेको छ ।
शिवरात्रिमा देशभरका शिवालयहरूमा भिड हुने गर्छ । दर्शन गर्दा पहिले शक्तिको, त्यसपछि टुँडालहरूको र त्यसपछि तोरणको दर्शन गरेर मात्रै मूल मन्दिरको दर्शनमा जानुपर्ने शास्त्रीय मान्यता रहेको छ ।