भारतमा थपिए १८ हजार भन्दा बढी कोरोना संक्रमित

   २४ फाल्गुन २०७७, सोमबार १५:०९  

२४ फागुन, रौतहट । पछिल्लो २४ घण्टामा भारतमा थप १८ हजार ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका संक्रमितहरुसंगै हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १२ लाख २९ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण ९७ जनाको मृत्यु भएसंगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ लाख ५७ हजार ८ सय ३५ जना पुगेको छ । हाल भारतमा १ लाख ८८ हजारभन्दा बढी संक्रमित उपचाररत रहेका छन्, भने १ करोड ८ लाख ८२ हजारभन्दा बढी कोराना संक्रमणमुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम शुरु भएको थियो । त्यसैगरी दोस्रो चरणमा ६० वर्षभन्दामाथिका उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम शुरु भइरहेको छ ।

त्यसैबीच दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोना भाइरसविरुद्धको खोप शुरु भएको छ । गत जनवरी १६ यता भारतमा २ करोड १० लाख व्यक्तिले कोरोना विरुद्धको खोप लगाईसकेका छन् ।