अवैध रुपमा ल्याएको सामानसहित रौतहटबाट दुई जना पक्राउ
२४ फागुन, रौतहट । भारतबाट अवैधरुपमा ल्याएको सामानसहित दुई जनालाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ ।
भन्सार छलेर सिमा नाकाहरुबाट चोरी निकासी र पैठारी गरी ल्याएको अवैध सामानसहित दुवै जनालाई नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले आइतबार सिमा नाकाबाट नेपालतर्फ सामान भित्र्याई रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।
ट्रयाक्टरको ट्रलीमा लोड गरी अल्मुनियमको ८ वटा ढोका, ९१९ वटा झ्याल र त्यसमा लाग्ने विड सहित १ वटा ट्रयाक्टर, २ वटा बलोरो, १ वटा मारुती कार, २ वटा मोटरसाईकल समेत गरी गम्छा, खैनी, अन्डर वेयर, सुती साडी, पेन्ट, लगाएत कस्मेटिक सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद भएको सामानको मूल्य करिब १२ लाख ९६ हजार ३ सय ८० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
यस्तै, सामानसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।