चौथो टेस्टः भारतविरुद्ध पहिलो ब्याटिङ गर्दै इंग्ल्यान्ड
२० फागुन, रौतहट । इंग्ल्यान्डले भारतविरुद्ध चौथो तथा अन्तिम टेष्ट खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा इंग्ल्यान्डका कप्तान जो रुटले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
इंग्ल्यान्डले तेस्रो टेष्टबाट टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर जोफ्रा आर्चर र स्टुअर्ट ब्रोडको स्थानमा ड्यान लरेन्स र डोमिनिक बेसलाई मौका दिएको छ । लरेन्स ब्याट्सम्यान हुन् भने बेस स्पिनर हुन् । पिच स्पिनर सहयोगी हुँदा दुई तीव्र गतिका बलरलाई बेन्चमा राखेको छ । बेस तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्छन् ।
भारतले एक परिवर्तन गरेको छ । जस्प्रित बुमराहको स्थानमा मोहम्मद सिरिजालाई खेलाएको छ । बुमराह ब्यक्तिगत कारण टोलीबाट नाम फिर्ता लिएपछि सिराजलाई मौका दिएको हो । चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ ।
आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्न भारतलाई यस खेलमा जित वा बराबरी पर्याप्त हुने छ । भारत पराजित भएको खण्डमा अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने छ । पहिलो टेष्टमा २ सय २७ रनले विजयी भएको इंग्ल्यान्ड त्यसपछि लगातार दुई खेलमा पराजित हुँदै घरेलु मैदानमा हुने टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने अवसर गुमाएको थियो ।