सर्लाहीमा छतबाट लड्दा एक मजदुरको मृत्यु
२० फागुन, रौतहट । सर्लाहीमा दोस्रो तल्लाको छतबाट लडेर एक मजदुरको मृत्यु भएको छ ।
जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर ४ पानी ट्यांकीस्थित नयाँ घरको ढलान गर्नै क्रममा लेवरको रुपमा काम गर्ने कौडेना गाउँपालिका वडा नम्बर २ ईनर्वा बस्ने २० वर्षीय श्याम बाबु मुखियाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार रामबाबु साहको नयाँ घर बनाउन मलंगवा नगरपालिका वडा नम्बर ३ का सञ्जय महतोले ठेक्का लिई दोस्रो तल्लाको ढलान गर्ने क्रममा मुखिया छतबाट लडेका थिए ।
लडेर गम्भीर घाइते भएका मुखियालाई उपचारको लागी जिल्ला अस्पताल मलंगवा लैजाँने क्रममा बाटोमा नै निजको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।






