इराकको अमेरिकी एयरबेसमा १० वटा रकेट हमला

   १९ फाल्गुन २०७७, बुधबार १४:५७  

१९ फागुन, रौतहट । इराकको एक अमेरिकी एयरबेसमा कम्तीमा १० वटा रकेट आक्रमण गरिएको छ । हालैका दिनमा अमेरिकी बलहरूमाथि आक्रमणको सिलसिला चलेको छ ।

पश्चिमी आनबार प्रान्तमा रहेको ऐन अल–असद एयरबेसमा बुधवार बिहान ७ बजेर २० मिनेट जाँदा रकेट प्रहार गरिएका थिए । उक्त अड्डाबाट पाँच माइल परबाट लोन्चरमार्फत आक्रमण गरिएको स्रोतहरूले बताए ।

उक्त अड्डामा अहिलेसम्म कोही पनि हताहत भएको खबर छैन । त्यहाँ अमेरिकी र गठबन्धन सैनिकहरू इराकी बलसँगै रहेका छन् ।

पोप फ्रान्सिसले इराकको भ्रमण गर्नुअघि यो आक्रमण गरिएको हो । शुक्रवारदेखि पोपले इराक भ्रमण गर्न लागेका हुन् ।

पश्चिमी सुरक्षा स्रोतहरूले एएफपीलाई बताएअनुसार इरानमा बनेका आराश मोडलका रकेट प्रहार गरिएको हो । ती १२२ एमएम आर्टिलरी रकेट हुन् र अन्य आक्रमणमा प्रयोग गरिएका रकेटभन्दा भारी रहेको बताइएको छ ।

इरानसमर्थक कट्टरपन्थीहरूले यो आक्रमण गरेको पश्चिमी मुलुकहरूले आरोप लगाएका छन् ।