पर्साबाट ३ जना जुवाडे प्रहरी नियन्त्रणमा

   १९ फाल्गुन २०७७, बुधबार १४:०९  

१९ फागुन, रौतहट । पर्साको बहुदरमाईबाट प्रहरीले ३ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको बहुदरमाई नगरपालिका ९ बस्ने ४० वर्षीय गुरदेली साह, कलैया १४ बस्ने ४० वर्षीय राजेश मेहता र बाराको कलैया उपमहानगरपालिका २३ बस्ने २३ वर्षीय जंगबहादुर साहलाई मंगलबार नै प्रहरीले पक्राउ गरेको थियो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बहुदरमाई १ स्थित बाँसघारीमा जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट १ लाख ६७ हजार ४ सय १६ रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, तास खेलाउने व्यक्ति रवीन्द्र महतोसहित अन्य १५ जनाभन्दा बढी व्यक्ति प्रहरीलाई देखेपछि भाग्न सफल भएका छन्।

फरार भएका व्यक्तिहरुको खोजी भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जनाएका छन् ।