अपहरण भएका २७९ छात्रा रिहा

   १८ फाल्गुन २०७७, मंगलवार १७:१८  

१८ फागुन, रौतहट । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका नाइजेरियाका २७९ छात्राहरु रिहा भएका छन् । उनीहरुलाई सरकारी संरक्षणमा राखिएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

अधिकारीहरुले यसअघि सयौंको संख्यामा आएका बन्धुकधारीहरुले दुर्गम जान्गेबे गाउँमा रहेको एक माध्यमिक विद्यालयबाट ३१७ जना बालिका अपहरण गरेको बताएका थिए । तर पछि यो संख्या २७९ रहेको जानकारी दिइएको थियो ।

भारी मात्रामा हातहतियार सहितका आपराधिक समूहले उत्तरपश्चिम र मध्य नाइजेरियामा हालैका वर्षहरुमा मानिसहरुसँग फिरौती माग्ने, अपहरण गर्ने, बलात्कार गर्ने तथा लुटपाट गर्ने जस्ता निकै उपद्रो मच्चाइरहेका छन् ।

गत डिसेम्बरमा कन्काराको एक विद्यालयबाट ३०० भन्दा बढी बालक अपहरण गरिएको थियो । यो क्षेत्र राष्ट्रपति मुहम्मदु बुहारीको गृहराज्य काट्सिनामै रहेको छ । तर पछि ती बालकलाई अपहणकारीले मुक्त गरेका थिए ।