अनेरास्ववियूको तालाबन्दी पछि शुल्क मिनाह गरे जुद्ध मावि

   १७ फाल्गुन २०७७, सोमबार १५:५१  

१७ फागुन, रौतहट । गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालयमा विद्यार्थी र क्याम्पस कमिटी समेत अनेरास्ववियूले तालाबन्दी गरेपछि विद्यालयले शुल्क मिनाह गरेको छ । कोरोना महमारीमा ६ महिना कक्षा संचालन नभएको समेत शुल्क लिए पछि कक्षा ११ र १२का विद्यार्थीहरुले यस्तो कदम चालेका थिए ।

रौतहटको गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालयले कोरोना महमारीले गर्दा ६ महिना कक्षा संचालन नभए पनि शुल्क उठाएको आरोपमा विद्यार्थी र क्याम्पस कमिटी समेत अनेरास्ववियूले तालाबन्दी गरेका थिए। नेपाली माध्यममा पढने विद्यार्थीहरु सँग पनि जुद्ध माविमाले मासिक शुल्क, भर्ना शुल्क,पुस्तकालय शुल्क,प्रयोगशाला शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको शुल्क लिने गरेका थिए ।

 

तालाबन्दीपछि स्थानीय सरकार तथा नगरप्रमुख अजय गुप्ता र वडा अध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष राकेश झा विद्यालयमा पुगेका थिए । विद्यार्थी र नगरप्रमुख सहित व्यवस्थापन समितिको ३ घण्टाको लामो बैठक पछि मात्र ६ महिनाको शुल्क र सरकारले तोकेकोे शुल्क लाग्ने निर्णय भएको थियो ।

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तह सम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको गौरमा रहेको देशकै जेठो मध्येको एक जुद्ध उच्च माध्यमीक विद्यालयमा भने विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गरिएको छ ।

गौर नगरपालिकाको कार्यालयले समेत सामुदायीक विद्यालयहरुलाई कुनै पनि बहानामा शुल्क नउठाउन पत्रचार गरेका थिए । नगरप्रमुख अजय कुमार गुप्ताद्धारा जारी भएको सो सूचनामा नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी गरिएको शिक्षा नियमावलीमा सामुदायिक विद्यालयहरुमा कक्षा बालविकास देखी माध्यमिक तह सम्म निशुल्क शिक्षा घोषणा लागु गरिएता पनि कतिपय विद्यालयहरुले आफूखुशी निर्णय गराई विद्यार्थीका अभिभावकबाट शुल्क असुल गरेकोले अब अप्रान्त नियमावलीको विरुद्ध गएर शुल्क उठाएमा सम्बन्धीत विद्यालयलाई कारवाही गरिने समेत उल्लेख गरिएको थियो ।

“जुद्ध उच्च माध्यमिक विद्यालयले नानाथरीको बहानामा सरकारी विद्यालयमा समेत शुल्क शुल्क उठाएको छ ।” अनेरास्ववियूका केन्द्रीय सदस्य रवि मिश्रले भने “गौर नगरपालिका र व्यवस्थापन समितिले सूचनानै जारी गरेर शुल्क नउठाउन भन्दा पनि विद्यालयले अटेर गरेको र कोरोनाकालको समेत शुल्क उठाइरहेकोले हामी आज विद्यालयको प्रशासान र प्रधानाध्यापकको कोठामा तालाबन्दी गरेका थियौ । ”

 

विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुदा आफुहरु समस्यामा परेको जुद्ध उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्देश्वर राउतले बताए । विद्यार्थी सँख्या अत्याधिक भएको र शिक्षक दरबन्दी कम भए पछि विद्यालयले आफ्नै श्रोतमा कक्षा संचालन गरेको र सोही अनुरुप तिन सय शुल्क तोकिएको प्रधानाध्यापक राउतले बताए ।

यो तालाबन्दी भन्दा पहिला पनि जुद्ध उच्च माध्यमिक विद्यालयले अग्रेंजी माध्यमको बहानामा सरकारी विद्यालय भित्रै अर्को एक विद्यालय खडा गरेर विद्यार्थी बाट शुल्क उठाएको आरोप थियो ।