वाणिज्य बैंक र टेलिकमले तयार पार्यो मोबाइल मनी एप
११ फागुन, रौतहट । नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि आवश्यक मोबाइल एप तयार गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानीमा सञ्चालन हुने लागेको उक्त कम्पनीले टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोगमा ल्याउने तयारी गरेको छ ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार उक्त एप फागुन १२ अर्थात भोलि नेपाल राष्ट्र बैंकले अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।
‘राष्ट्र बैंकले क्यूएसएसडी लगायतको अन्य सम्पूर्ण सिस्टमको अध्ययन यसअघि नै गरिसकेकाले भोलि एपको मात्रै अवलोकन हुनेछ,’ अधिकारीले भने, ‘पहिलो चरणमा मोबाइल एपको कस्टमाइजेशनको काम बाँकी भएकाले एपको देखाउन सकिएको थिएन । तर, अब भने मोबाइल एप तयार भएको छ ।’
राष्ट्र बैंकले उक्त एपको अवलोकन गरेसँगै अनुमतिको प्रक्रिया अघि बढ्ने उल्लेख गरिएको छ । यसअघि उक्त कम्पनीले सेवा सञ्चालनको अनुमतिपत्रका लागि पुस २६ गते राष्ट्र बैंकमा निवेदन पेश गरेको थियो । त्यसका आधारमा राष्ट्र बैंकले कम्पनी दर्ता, कार्यालय, कर्मचारी, सफ्टवेयर, नेटवर्क लगायतको आवश्यक अध्ययन गरिसकेको उल्लेख गरिएको छ ।
बाँकी रहेको एप अध्ययन पश्चात मोबाइल भुक्तानी सेवाका लागि अनुमतिपत्र प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । उक्त अनुमति पश्चात डिजिटल पेमेन्ट कम्पनीले टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग गर्न सकिने गरी सेवा सुरु गर्नेछ । जसबाट सहजै विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन् ।
प्राप्त जानकारी अनुसार मोबाइल भुक्तानीका लागि रहने रकम रिचार्ज ब्यालेन्सको रुपमा भन्दा फरक खातामा रहने बताइएको छ । रिचार्जमा दूरसञ्चार सेवा शुल्क लगायतका कर लाग्ने भएकाले मोबाइल मनी सस्तो बनाउन यस्तो विकल्प अगाडि सारिएको हो ।