फेसबुकले अस्ट्रेलियाको समाचार पृष्ठहरू पुनःस्थापना गर्ने

   ११ फाल्गुन २०७७, मंगलवार १२:५५  

११ फागुन, रौतहट । अष्ट्रेलियाका प्रयोगकर्तामाथि समाचार पृष्ठ माथि लगाएको प्रतिबन्ध फेसबुकले पुनःस्थापना गर्ने घोषणा गरेको छ ।

अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले गत बिहिबारदेखि अष्ट्रेलियाका मिडियाहरुलाई फेसबुकमा समाचार सामग्री सेयर गर्न बन्द गरिदिएको थियो । अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिनुपर्ने व्यवस्था छ ।

यता फेसबुकले भने आफ्नो समाचारको रिच बढाउन प्रकाशकले नै फेसबुकमा समाचार सेयर गर्ने गरेकोले पैसा तिर्ने कानून ल्याउन नमिल्ने बताएको छ ।

फेसबुकको आफ्नो सोकेस उत्पादन छ जसमार्फत् यसले मिडिया संस्थालाई आफ्नो सामग्री प्रकाशित गरेबापत् रकम भुक्तानी गर्छ ।

यद्यपि, अष्ट्रेलियाली सरकारले भने फेसबुकमा सेयर र पोस्ट भएका समाचारका लिङ्कका लागि पनि भुक्तानी माग गरिरहेको छ ।