हेटौंडामा सवारी दुर्घटना हुँदा ११ जना घाइते

   ११ फाल्गुन २०७७, मंगलवार ११:००  

११ फागुन, रौतहट । मकवानपुरमा दुईवटा सुमो आपसमा ठोक्किदा ११ जना घाइते भएका छन् ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहान करिब ८ बजेतिर भएको सवारी दुर्घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बरको यात्रुबाहक सुमो र सोही विपरित दिशाबाट आउँदै गरेको ना१ज २४६० नम्बरको सुमो तीव्र गतिका कारण अनियन्त्रित भइ ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

दुर्घटना हुँदा सामान्य घाइते भएका ११ जनाको हेटौंडाको सञ्चो अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटना भएको दुबै सुमोलाई प्रहरीले नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।