भन्सार छलेर ल्याएको सामान प्रहरी नियन्त्रणमा
६ फागुन, रौतहट । भारतबाट अवैध रुपमा ल्याएको सामान रौतहट प्रहरीले बरामद गरेको छ ।
सीमा नाकाबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले बुधबार नै सामान बरामद गरेको थियो ।
मोटरसाईकल र साईकलमा लोड गरी ल्याउँदै गरेको चिनी, अण्डर वेयर, सेण्डो गंजी, सर्फ, सर्ट, खैनी, राजनिवास, धुप, सौफी रक्सी, पेट्रोल, डिजल लगाएतका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।
सिमा नाकाबाट नेपालतर्फ ल्याउने क्रममा प्रहरी गस्ती टोली हेरेर सामानहरु छोडेर तस्करहरु फरार भएको थियो ।
तस्कर भागेपछि वेवारीसे अवस्थामा बरामद भएको सामानहरुको मूल्य करिब १ लाख ६३ हजार ७ सय रुपैयाँ रहेको प्रहरीले जनाए ।
मालसामानसहित दुई वटा मोटरसाइकल र एक साइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बरामद भएको सामान, साइकल र मोटरसाइकललाई आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।