पुराना अपराध केलाउदै रौतहट प्रहरी,

   ३० माघ २०७७, शुक्रबार १४:२५  

३० माघ, रौतहट । विभिन्न समयमा अपराध तथा गैरकानूनी कार्य गरी लामो समय देखी फरार रहदै आएका अभियुक्तहरुलाई रौतहट प्रहरीले पक्राउ गर्न थालेको छ ।

विभिन्न मुद्दामा लगत कसिएको तर फरार रहेका अभियुक्तहरुलाई रौतहट प्रहरीले पक्राउ गर्ने विशेष टोलि गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षकको कमाण्डमा गठन भएको सो टोलिले अदालतको फैसला कार्यान्वयनको सिलसिलामा न्यायिक निकायबाट कैद तथा जरिवाना तोकिएको तर हाल सम्म फरार रहेका ३७ अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

विभिन्न समयमा अपराधका घटना घटाएर गाँउघरमा लुकीछिपी बस्दै आएका तथा विभिन्न राजनितिक शक्तिको आडमा जोगिएर बसेकाहरुलाई प्रहरीले पक्राउ गर्न थालेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक सिद्धि विक्रम शाहले बताए । “यस वर्षको श्रावण देखी हाल सम्म प्रहरीले ३७ जना कैद तथा जरिवाना तोकिएका अभियुक्तलाई पक्राउ गरेका छौं ।” प्रहरी उपरिक्षक शाहले भने “यसैगरी विभिन्न मुद्दामा परेर फैसला हुनु अगावै फरार रहेका ६५ जनालाई पक्राउ गरेका छौं ।”

पक्राउ परेकाहरुबाट ८३ लाख २३ हजार ८७ रुपैंया जरिवाना असुल भएको र ३८ वर्ष ५ महिना कैद सजाय भएको उनले बताए । “ पुरानो मिशिलहरु अध्यन गर्दै सम्मानित अदालतले पक्राउ गर्न आदेश दिएका तर फरार रहेका व्यक्तिहरुको खोजी गर्न छुट्टै टोलि बनाएर काम गरि रहेका छौं ।” प्रहरी उपरिक्षक शाहले भने “फरार अपराधीहरु समाजमै रहदा न्याय प्रति पीडितको विश्वास कम हुने भएकोले पुराना फाइलहरु केलाउदैछौं । न्यायीक निकायले दिएको फैसला कार्यान्वयन गर्न गराउन हाम्रो दायित्व समेत हो ।”