नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको संख्यामा वृद्धि
२९ माघ, रौतहट । नेपालमा प्रविधिको विकास र त्यसले ल्याएको सहजताले अहिले इन्टरनेटको प्रयोगमा वृद्धि भइरहेको छ ।
फेसबुक, युट्युव, टिकटक लगायतका सामाजिक सञ्जालको बढ्दो प्रयोगले इन्टरनेटको खपत पनि बढिरहेको छ । खपत बढिरहँदा सोही अनुरुप सेवा प्रदायकले इन्टरनेट विस्तार गर्ने कामलाई पनि प्राथामिकताका साथ लिइरहेका छन् ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जारी गर्दै आएको मासिक प्रतिवेदनलाई हेर्ने हो भने हरेक महिनाजस्तो नेपालको कुल जनसंख्याको थप एक प्रतिशतको हाराहारीमा इन्टरनेट पुगेको देखिन्छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार गत कात्तिक महिनामा नेपालको कुल जनसंख्याको ८०.७ प्रतिशत मानिस इन्टरनेटको पहुँचभित्र रहेका थिए । एक महिनाको अवधिमा थप १.४२ प्रतिशतमा इन्टरनेट पुगेको छ ।
प्राधिकरणले भर्खरैमात्र सार्वजनिक गरेको मंसिर महिनाको तथ्याङ्क अनुसार हाल कुल जनसंख्याको ८१.४९ प्रतिशतमा इन्टरनेट पुहँच रहेको छ ।
जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्राधिकरणले उक्त प्रतिवेदन तयार पारेको हो । जसमा नेपालको कुल जनसंख्या २ करोड ९८ लाख ७६ हजार ५ सय ३१ रहेका छन् ।
यो हिसाबले हेर्ने हो भने कात्तिकबाट मंसिरमा आइपुग्दा थप ४ लाख २४ हजार २ सय ४६ जनाको पहुँचमा इन्टरनेट पुगेको छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार कात्तिकमा कुल २ करोड ३९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा इन्टरनेट रहेको थियो । भने, मंसिरमा आइपुग्दा इन्टरनेटको पुहँचमा २ करोड ४३ लाख ४७ हजार १ सय ४७ जना रहेका छन् ।
यसमा सबैभन्दा बढी योगदान मोबाइल इन्टरनेटको रहेको छ । मोबाइल इन्टरनेटको हिस्सा ५९.६७ प्रतिशत रहेको छ । प्राधिकरणको मंसिर महिनाको तथ्याङ्क अनुसार हाल १ करोड १० लाख ६९ हजार ३ सय ६० को पुहँचमा मोबाइल इन्टरनेट थ्रिजी पुगेको छ ।
त्यस्तै फोरजी प्रयोगकर्ता ६६ लाख २२ हजार ३ सय १६ र ईभिडियो प्रयोगकर्ता १ लाख ३६ हजार पाँच सय ७३ रहेका छन् । फोरजीमा सबैभन्दा बढी प्रयोगकर्ता एनसेलको रहेको छ ।
एनसेलका फोरजी प्रयोगकर्ता हाल ४१ लाख ५३ हजारभन्दा बढी रहेका छन् भने नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २२ लाख ५७ हजार भन्दा बढी रहेका छन् ।
त्यस्तै फिक्स ब्रोडब्याण्डको हिस्सा २१.०४ प्रतिशत छ । जसमा एफटीटीएच इन्टरनेट ५३ लाख ९७ हजार ३ सय ५३ जनामा पुगेको छ ।
नेपाल टेलिकमको एडीएसएल प्रयोगकर्ता ८ लाख ८६ हजार ३७ रहेका छन् । त्यस्तै वाईम्याक्स र रेडियो वाइफाईमार्फत पनि २ लाख ३३ हजारभन्दा बढी कनेक्ट भएका छन् ।