सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

   २९ माघ २०७७, बिहीबार १२:१३  

२९ माघ, रौतहट । सुनसरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ, भने अन्य दुई जना घाइते भएका छन् ।

इटहरी १७ मा बुधबार राति भएको सवारी दुर्घटनामा परी उदयपुर बेलका नगरपालिका ९ बस्ने ५४ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

को१क ३४११ नम्बरको टिपर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको क्रममा सोही दिशातर्फ आउँदै गरेको को३८प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यस्तै, सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको को३५प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा चालक मोरङ बेलबारी ८ बस्ने ३८ वर्षीय होमनाथ बाँसकोटा र पछाडि सवार इटहरी ८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

घाइते भएकादुवै जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी रामधुनी नगरपालिका ३ का चालक ३५ वर्षीय सलमकुमार सरदारसहित टिपर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।