सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका ल्याउने सरकारको तयारी

   २८ माघ २०७७, बुधबार ११:३९  

२८ माघ, रौतहट । सरकारले सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित बनाउन सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका २०७७ ल्याउने तयारी गरेको छ।

यसबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले संविधानले पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सञ्चार गर्ने स्वतन्त्रताका साथै सूचनाको हकको ग्यारेन्टी गरेको र त्यसलाई पूर्ण पालना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए।

उनले भने, ‘पछिल्ला दिनहरूमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्ति केन्द्रीत मन्तव्य दिँदै हिँड्ने र त्यसलाई सामाजिक सञ्जाल र केही जिम्मेवार अनलाइनसमेतले प्रकाशन तथा प्रसारण गर्ने गरेको पाइएको छ।’ लामो राजनीतिक द्वन्दबाट स्थापित लोकतान्त्रिक शासन पद्धतिमाथि प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुडभेठतर्फ धकेल्ने खालको अभिव्यक्ति र त्यसलाई सार्वजनिक गर्ने माध्यमको गतिविधि खेदजन्य भएको उनले बताए ।

मन्त्री गुरुङले स्वतन्त्रको उपभोग गर्ने नाममा कुनै दर्ता बिनै फेसबुक लगायतका माध्यमको विकृति रोक्न निर्देशिका २०७७ जारी गर्ने तयारी गरिएको बताए।