चोरी गर्न गएका युवकको करेन्ट लागेर मृत्यु

   २६ माघ २०७७, सोमबार १६:४५  

२६ माघ, रौतहट । जंगली जनावरहरुबाट बालि जोगाउन गहुँ खेतमा राखिएको विद्युतिय धरापमा परेर एक युवकको ज्यान गएको छ । चोरी गर्न गएका युवक भाग्ने क्रममा करेन्ट प्रवाह भएको तारमा अल्झीएका थिए ।

गत बिहिवार वृन्दावन नगरपालिका ९ भुसहामा मृत अवश्थामा भेटिएका गुजरा नगरपालिका ७ का रितु महराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । वृन्दावन ९ भुसहाका महम्मद आलमको घरमा चोरी गर्न गएका रितु महरालाई घरधनीले लखेटे पछि लमहा नदी तरेर भाग्ने क्रममा उनी खेतमा जोडिएको करेन्टमा अल्झीएका थिए ।

जनावर धपाउन राखेको विद्युतिय तारमा बिहान महरालाई मृत अवश्थामा देखेपछि खेतधनि मसकुर आलमले आफ्नो खेतको वरिपरि लगाएको तार हटाएर एक सय मिटर दक्षिण शेख मोजैरको गहुँ खेतमा शव राखेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक सिद्धि विक्रम शाहले बताए । मृतक युवक पहिले देखिनै विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको र मुद्दा समेत चलेको व्यक्ति रहेको उनले बताए ।

खेतमा तार जोडर करेन्ट प्रवाह गर्ने र शव अर्काको खेतमा लगेर राख्ने मसकुर आलमलाई ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।