कोरोना भाइरस विरुद्धको खोप माथि दक्षिण अफ्रिकामा प्रतिबन्ध
२६ माघ, रौतहट । कोरोना भाइरसविरुद्ध अक्सफोर्ड-आस्ट्राजेनेकाले बनाएको खोप लगाउन दक्षिण अफ्रिकाले रोक लगाएको छ ।
नयाँ प्रकारको कोरोनाभाइरसको विरुद्ध सो खोपको नतिजा प्रभावकारी नभएपछि त्यसको प्रयोग माथि रोक लगाइएको दक्षिण अफ्रिका सरकारले जनाएको छ ।
वैज्ञानिकहरूले भनिएका अनुसार दक्षिण अफ्रिकामा नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार कोे भेरीअन्टबाट प्रभावित रहेको पाइएको छ।
अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले उक्त प्रकारको कोभिड-१९ का हल्का तथा मध्यम खालका बिरामीलाई पनि खास काम नगरेपछि रोक लगाइएको बीबीसीले जनाएको छ ।
दुई हजार हाराहारी मानिस सम्मिलित एउटा अध्ययनले सो खोपको प्रभावकारिता नभएको पुष्टि गरेको जनाइएको छ ।
दक्षिण अफ्रिकाले अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपको १० लाख मात्रा प्राप्त गरिसकेको थियो । आगामी सातादेखि खोप अभियान थाल्ने तयारी भइरहेका बेला प्रभावकारितामा प्रश्न उठाउँदै खोप लगाउन नै रोक लगाइएको हो ।