बिहारमा १२ वर्षीय नेपाली बालिकाको बलात्कार पछि शव जलाइयो

   २६ माघ २०७७, सोमबार १२:४०  

२६ माघ, रौतहट । भारतको बिहारमा एक १२ वर्षीय नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोले यो घटना स्थानीय प्रहरी चौकीका प्रमुखको मद्दतमा भएको खुलेको छ। एसपी नविनचन्द्र झाले बिबिसी हिन्दीसँग भनेका छन्, ‘जुन अडियो भाइरल भएको छ त्यसबाट स्पष्ट हुन्छ कि प्रहरी अधिकारी संजिव कुमार रन्जनको लापर्वाही र कर्तव्यहीनता यो घटनामा छ । उनलाई निलम्बन गरिएको छ र अनुसन्धानका लागि उनीविरुद्ध एफआईआर दर्ता हुनेछ।’

२१ जनवरीमा भएको यो घटनाको उजुरी फेब्रुअरी २ मा दर्ता भएको छ । जम्मा ११ जनाका विरुद्ध उजुरी दर्ता भएको छ। जसमध्ये चारजना अभियुक्त विनय साह, दिपककुमार साह, रमेश साह देवेन्द्र कुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप छ । अन्य सातजना जसमा घरधनी सियारामसाह पनि संलग्न छन् उनीहरुलाई जबरजस्ती शव जलाएर प्रमाण नष्ट गरेको आरोप लगाइएको छ।

यो घटनाको एफआईआर दर्ता भएलगत्तै फेब्रुअरी ५ मा एक अडियो भाइरल भएको छ जसमा २१ जनवरीमा कुन्डवा चैनपुर चौकीका प्रमुख संजिव कुमार रन्जनले एक अभियुक्तमा रमेश साहसँग कुरा गरेका छन्। उक्त कुराकानीमा रन्जन अभियुत्त रमेशसँग भन्छन्, ‘शवको व्यवस्था गर र केटी चिसोले मरेको कागज बनाउ ।’

एसपी नवीनचन्द्र झाका अनुसार यो घटनामा दुईजना अभियुक्त पक्राउ परेका छन्। अन्यको खोजी भइरहेको छ । बारबर्दिया नगरपालिकाका प्रवक्ता दुर्गात्रबहादुर बिकले घटना भएको थाहापाएलगत्तै आफूहरुले पीडित परिवारको न्यायका लागि पहल गरिरहेको बताए ।