कोरोना प्रभावितका लागि १.९ ट्रिलियन डलरको प्याकेज स्वीकृत
२४ माघ, रौतहट । संयुक्त राज्य अमेरिकका राष्ट्रपति जो बाइडेनले कोरोना प्रभावित लागि प्रस्तुत गरेको १.९ ट्रिलियन डलरको प्याकेजलाई उनको डेमोक्रेटिक पार्टी र गठबन्धनले स्वीकृति दिएको छ ।
बाइडेनले प्रस्तुत गरेको राहत प्याकेजलाई कांग्रेसमा रहेका उनका पार्टीका सदस्य र गठबन्धनका सदस्यले स्वीकृति दिएका हुन् । बाइडेनलाई विधायकहरुले पूर्ण साथ दिएका हुन् ।
बाइडेनको बजेट योजनालाई विधायकहरुले स्वीकृति दिएसँगै अब आगामी दिनमा रिपब्लिकनको सहमति नभएपनि कार्यान्वयनको दिशामा जाने भएको छ ।
सिनेटले पूर्वस्वीकृति दिएसँगै अमेरिकाको तल्लो सदनले बाइडेनको राहत प्याकेजलाई पारित गरेको छ । सदनले २१९–२०९ मतले राहत प्याकेज पारित गरेको हो । जसमा उपराष्ट्रपति कमला ह्यारिसले पहिलोपटक टाई–ब्रेकिङ भोट हालिन् ।
सदनकी स्पिकर नान्सी पेलोसीले आगामी मार्च १५ अगावै उक्त राहत प्याकेज पास हुने बताइन् । राहत प्याकेजमा कोभिड कालमा बेरोजगार भएका व्यक्तिलाई विशेष सम्बोधन गर्ने तयारी रहेको छ ।