नेपालमा थपिए १७१ कोरोना संक्रमित, १ को मृत्यु

   २० माघ २०७७, मंगलवार १६:५७  

२० माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका जानकारी अनुसार बितेको २४ घण्टामा २ हजार ९ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ । जसमध्ये हाल नेपालमा २ हजार ४ सय संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, विगत २४ घण्टामा थप २ सय ५९ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । यससंगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएसंगै हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ३० पुगेको मन्त्रालयले जनाएको छ ।