३२ अर्ब घुस लिएको आरोपमा एक चिनीलाई मृत्युदण्ड
१९ माघ, रौतहट । अरबौं रुपैयाँको घुस खाने चीनको एक पूर्व बैंकरलाई मृत्युदण्ड शुक्रबार मृत्युदण्ड दिइएको चीनको सरकारी मिडिया पिपुल्स डेलीले जनाएको छ ।
५८ वर्षका लाइ शाओमिन चीनको सत्ताधारी कम्युनिस्ट पार्टीका पनि सदस्य थिए । उनले बरिष्ठ बैंकिङ रेगुलेटरको रुपमा काम गर्ने क्रममा १.७९ बिलियन युआन (३२ अर्ब नेपाली रुपैयाँ) घुस लिएको आरोप थियो । अदालतले यही जनवरीको पहिलो हप्ता उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो ।
उनलाई कुन तरिकाले मृत्युदण्ड दिइयो भन्ने खुलासा गरिएको छैन । उनीमाथि गोप्य तरिकाले दोस्रो परिवार सुरु गरेको समेत आरोप थियो । आफ्नो मूल परिवारभन्दा बाहिर उनी एक महिलासँग पतीपत्नीको रुपमा बसिरहेका थिए ।
गोप्य परिवारमा उनका एक सन्तान पनि थिए । लाइ शाओमिनले घुसको रुपमा यति ठूलो रकम २००८ देखि २०१८ को बीचमा लिएका थिए । शाओमिन चाइना हुआरोङ्ग एसेट म्यानेजमेन्ट कम्पनीका अध्यक्ष पनि थिए ।
५ जनवरीमा तिआनजिनको सेकेण्डरी इन्टरमिडियट पिपुल्स कोर्टले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । उनलाई मृत्युदण्डको सजाय सुनाइएपछि सर्वोच्च अदालतले फैसलाको पुनरावलोकन पनि गरेको थियो ।
फैसलाको पुनरावलोकनको क्रममा उनले समाजलाई जति नोक्सानी पुर्याएका छन् त्यो उनले गरेका राम्रा काममाथि भारी पर्ने भएको ठहर गर्दै मृत्युदण्डको सजाय कायम राखिएको थियो ।
यसअघि शाओमिनको एउटा भिडियो पनि प्रसारण भएको थियो जसमा उनले आफ्नो अपराध स्वीकार गरेको देख्न सकिन्छ । सरकारी टिभीमा शाओमिनको बेइजिङस्थित एक अपार्टमेन्टका कैयौं भाग पैसाले भरिएको पनि देखाइएको थियो ।