रौतहटबाट लागूऔषधसहित एक जना पक्राउ
१६ माघ, रौतहट । रौतहटबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नम्बर ४ सुकदेव टोल का २७ वर्षीय शेर बहादुर कुश्वारलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
जिल्लाको पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने मंगलपुर चोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बा ९३ प ८६१ नम्बरको पल्सर मोटरसाइकलमा सवार भएको कुश्वारमाथि शंका भएपछि चेकजाँच गर्दा निजले ज्याकेट भित्र पछाडीको भागमा लुकाई छिपाई ल्याएको पोलिथिनको झोलामा रहेको सात वटा प्याकेटमा २,१०० नाईट्राजापाम ट्याब्लेट , नाइट्रोभेट १० लागु औषध बरामद भएको प्रहरीले जानकारी दिए ।
निजलाई लागूऔषध र मोटरसाइकलसहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याएको थियो ।
पक्राउ परेका कुश्वारलाई रौतहट जिल्ला अदालतबाट म्याद थप गरी न्यायीक हिरासदमा राखी यसबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






