बाँकेमा एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण निधन

   १६ माघ २०७७, शुक्रबार १२:५०  

१६ माघ, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारीको सुरुवातबाटै प्रतिकार्यमा खटिएका एक स्वास्थयकर्मीको कोरोना सुंक्रमणकै कारण आज बिहान मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा बाँकेस्थित बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर ४२ वर्षीया रम्भा भारतीको शुक्रबार बिहान करिब ८ः४२ बजेको समयमा निधन भएको हो । भारतीको स्वास्थ्यमा समस्या आएपछि यही माघ १२ गते उपचारका लागि बाँके अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनका आज बिहान मृत्यु भएको छ ।

उनी जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिकी पत्नीसमेत रहेकी थिइन् । गिरिलाई भने कोरोना संक्रमण  पुष्टि भएको छैन । भारतीमा कोरोना संक्रमण बाहेक अन्य कुनै रोग नभएको बर्दियाका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । भारतीको एकरएक जना छोराछोरी छन् ।

त्यसैगरी, भारतीको निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तरगतको वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरेको छ ।

गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले समेत आज विज्ञप्ति जारी गर्दै मृतक राष्ट्र सेवक कर्मचारीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।