देश प्रचण्ड मुक्त हुनु पर्छ : शहरी विकास मन्त्री साह
१० माघ, रौतहट । प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवश्था भएको भन्दै शहरी विकास मन्त्री प्रभु साहले अब देशलाई प्रचण्ड मुक्त बनाउनु पर्ने बताएका छन ।
तिस वर्ष देखि निरन्तर पार्टीको अध्यक्ष रहेका प्रचण्डको साथ सबै नेताहरुले किन छोडे भन्ने चिन्तन गर्न जरुरी भएको उनले बताए । लामो संर्घषमा साथ रहेका नेता कार्यकर्ताहरुले प्रचण्डलाई अब साथ दिन नसक्ने बताए । अहिले पनि वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको तर लामो समय देखि अध्यक्ष पदमा रहेका प्रचण्ड पदको लोभमा डुबेको उनको आरोप छ । विगतको संघर्ष र बलिदानलाई बिर्सेर व्यक्तिगत फाइदाका लागी प्रचण्डले काम गरिरहेको उनको आरोप छ ।
मदन भण्डारीको पालाको एमालेलाई माधव नेपालले ध्वस्त बनाएको तर केपी ओलिको नेतृत्वको नेकपाले जनचाहना अनुसार काम गर्दै जनताको बिचमा उच्च छवि बनाएको उनले बताए । “पार्टी एकताको पक्षमा अगाडी आएर अन्तरघातिहरुलाई पाठ सिकाउनु पर्छ ।” शहरी विकास मन्त्री साहले भने “हिजोको दिनमा एमाले पार्टीलाई भाले न पोथी पार्टी भन्ने प्रचण्डले आफ्नो पार्टीको छाप हसिया हतौडा भएको बिर्सेका छन ।”
गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले भने “ प्रधानमन्त्री बन्ने र पार्टी अध्यक्ष बन्ने लोभले पार्टीको एकता टुटेको छ ।” देशमा निर्णयक आन्दोलन भइरहेको बेला राजा ज्ञानेन्द्रलाई दाम चढाउन गएका माधव नेपालले देशमा स्थीरता र विकास नचाहेको उनले आरोप लगाए । पार्टी कार्यकर्ताको मर्म र भावना नबुझ्ने नेतृत्वले दुई तिहाईको बहुमत भएको प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेकोले अब ताजा जनादेशको लागी निर्वाचनमा जानु भन्दा अर्को विकल्प नभएको मन्त्री साहले बताए ।
मन्त्री साहले रौतहटको गौरमा शहरी विकास मन्त्रालय अन्तर्गतका योजनाहरुको निरिक्षण गरेका थिए । आजै उनले जिल्लामा रहेका सामुदायीक विद्यालयका प्रधानाध्यापकहरु सँग पनि छलफल गरेका थिए ।