शिकार खेल्ने क्रममा बन्दुक पड्किँदा एक बालकको मृत्यु
९ माघ, रौतहट । पाल्पाबाट भरुवा बन्दुक पड्किँदा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको रिब्दिकोट गाउँपालिका ८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्किँदा सोही गाउँपालिका वडा नं. ८ बस्ने १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको प्रहरीले जनाएको हो ।
बिहीबार गएराति करिब ९ बजेको समयमा चारजना वनमा शिकार खेल्न गएका थिए । शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृतक छहारीसँगै शिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका ४ भर्माटुङका १४ वर्षीय कमल राना सोही स्थानका १७ वर्षीय ज्ञानबहादुर गाहा, र रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएर यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।