सर्लाहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते
८ माघ, रौतहट । सर्लाहीमा बिहीबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने अन्य १७ जना घाइते भएका छन् ।
जिल्लाको हरिवन नगरपालिका ४ मा आज बिहान ना ५ ख ४४८८ नम्बरको बस अनियन्त्रित भई पल्टिदाँ दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
दाङबाट पूर्वको काकडभिट्टा जाँदै गरेको बस दुर्घटना हुँदा दाङको राप्ती गाउँपालिका ५ की २३ वर्षीया निर्मला चौधरी र सोह स्थानकी ३६ वर्षीया राजकुमारी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।
राजकुमारीको घटना स्थलमै मृत्यु भएको थियो, भने निर्मलालाई उपचारका लागि बीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जनाए ।
यस्तै, दुर्घटनामा घाइते भएका १७ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको कुवैरले जानकारी दिए । गम्भीर घाइते हुनेहरुमा बस चालक रुपन्देही बुटवलका ३५ वर्षीय अर्जुन ज्ञावली, बस सहचालक रुपन्देही लुम्बिनीका २३ वर्षीय किशोर सुवेदी, दाङ राप्तीका २३ वर्षीया रीता चौधरी, महोत्तरीका ३५ वर्षीय बसन्तकुमार ठाकुर र बाराकी ३० वर्षीया सरिता चौधरी रहेका छन् ।
उनीहरुलाई वीरगंजको न्युरो अस्पतालतर्फ उपचारका लागि पठाइएको छ । बसमा ३० जना यात्रु सवार थिए ।