रोल्पामा एक महिलामाथि गोली प्रहार, महिलाको अवस्था गम्भीर

   ६ माघ २०७७, मंगलवार १५:४५  

६ माघ, रौतहट । रोल्पा नगरपालिका वडा नम्बर ९ फाल्जाकी एक महिलामाथि गोली प्रहार भएको छ ।

महिलामाथि गोली प्रहार गरेको आरोपमा स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनलाई पक्राउ गरिएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिएका हुन् ।

जंगलबाट घाँसको भारी बोकेर घर फर्किने क्रममा ४५ वर्षीया बरु पुनमाथि सोमबार बेलुका करिब ७ः३० बजेको समयमा गोली प्रहार भएको थियो ।

टाउकोमा गोली लागेको बरुको अवस्था गम्भीर रहेको समेत सुबेदीले जानकारी दिए । घाइतेलाई आज बिहान करिब ४ बजेतिर जिल्ला अस्पताल रेउघाबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुनले प्रहरी समक्ष आफूले हरिन ठानेर ती महिलालाई गोली चलाएको दावीसहितको बयान गरेका छन् ।

पुनलाई हिरासदमा राखि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।