एनसेलले ल्यायो च्याटबोट सेवा ‘माया’

   ६ माघ २०७७, मंगलवार १५:३२  

६ माघ, रौतहट । एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजनाअनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । यो च्याट सेवाको डिजिटल प्लेटफर्म मार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारी सजिलै लिन सक्छन् ।

च्याटबोट सेवा ‘माया’एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनः कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ । यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोट मार्फत एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासोहरु राख्न सक्छन् ।

च्याटबोट सेवा ‘माया’ माघ ४ गते देखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा उपलब्ध भएका छन् । यस प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टर कार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिन तथा कुनै गुनासो भए राख्न सक्छन् ।

एक दूरसञ्चार सेवाप्रदायकको रुपमा आफ्ना ग्राहकलाई नवीन सेवा सुविधाहरु प्रदान गर्दै ग्राहक अनुभवलाई अभिवृद्धि गर्न एनसेल सदैव तत्पर छ । यस नवीन डिजिटल सेवाले ग्राहक सेवालाई थप परिस्कृत गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।