मोरङमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ५ जना घाइते

   ६ माघ २०७७, मंगलवार १०:४५  

६ माघ, रौतहट । मोरङमा आज बिहान विद्यार्थी बाकेको बस दुर्घटना हुँदा पाँच जना घाइते भएको छ ।

जिल्लाको सुनवर्सी नगरपालिका ९ को भेडुवाथानमा भएको बस दुर्घटनामा परी रतुवामाई नगरपालिका ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

मंगलबार बिहान बा २ ख ४५८ नम्बरको बस डाइनियाबाट विद्यार्थी लिएर विराटनगर जाने क्रममा एक्कासी अगाडि आएको मोटरसाइकललाई जोगाउने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिए ।

दुर्घटना भएको बसमा विराटनगरको मेरिल्यान्ड कलेजका विद्यार्थी रहेका थिए । घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

हाल उनीहरुको अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ ।