नेपालमा थप २६६ जनालाई कोरोना संक्रमण पुष्टि

   ४ माघ २०७७, आईतवार १६:४६  

४ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा ६ हजार ४ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा २ सय ६६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । जसमध्ये हाल नेपालमा संक्रिय संक्रमितको कुल संख्या ३ हजार ९ सय १९ रहेको डा. गौतमले जनाएका छन् ।

यस्तै, विगत २४ घण्टामा थप ४०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको डा. गौतमले जनाए ।

त्यसैगरी, नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ ।