संसारकै सबैभन्दा शक्तिशाली रकेटको इन्जिन परीक्षण रद्द

   ४ माघ २०७७, आईतवार १२:३३  

४ माघ, रौतहट । अमेरिकी वैज्ञानिक संस्था नासाको नयाँ ‘मेगारकेट’ द स्पेस लन्च सिस्टम एसएलएसको महत्त्वपूर्ण इन्जिन परीक्षण रद्द गरिएको छ।

परीक्षणमा चारै वटा इन्जिन चलाइएको थियो तर करिब १ मिनेटभन्दा केही बढी समयपछि नै बन्द गरिएका थिए। रकेटलाई अन्तरिक्षको कक्षमा पुर्‍याउनका लागि ती इन्जिन आठ मिनेटसम्म चल्नुपर्ने थियो। एसएलएस नासाको आर्टेमीस कार्यक्रमको हिस्सा हो जसले अमेरिकालाई यो दशकमा पुनः चन्द्रमाको सतहमा पुर्‍याउने लक्ष्य लिएको छ।

एसएलएसको महत्त्वपूर्ण परीक्षण मीसीसीपीस्थित स्टेनीस स्पेस सेन्टरमा गरिएको थियो।

यो वर्षको अन्त्यतिर यसले आफ्नो पहिलो उडान भर्दा यो अन्तरिक्षका लागि पृथ्वीबाट उड्ने सबैभन्दा शक्तिशाली रकेट बन्ने बताइएको छ। परीक्षण टोलीले इन्जिनमा भएको कमी पत्ता लगाउन तथ्याङ्क अध्ययन गरिरहेका छन्।

चारै वटा आरएस-२५ इन्जिन पहिलो पटक एकसाथ चलाइएको थियो जसलाई ‘हट फाएर’ परीक्षण भनिन्छ। उक्त परीक्षणका लागि रकेटलाई बी-टु टेस्ट स्टयान्ड भनिने स्टिलको विशाल संरचनामा राखिएको थियो। ग्रिन रन भनिने मूल्याङ्कन कार्यक्रम अन्तर्गतको यो आठौँ र अन्तिम परीक्षण थियो। उक्त कार्यक्रम नासा र अमेरिकी विमान निर्माता बोइङका इन्जीनियरहरूले सञ्चालन गरिरहेका हुन्।

नासाको पूर्वप्रशासक जीम ब्रीडेन्सटाइनले शनिवारको कार्यक्रम विफल नभएको बताउँदै भनेस् ‘त्यसै कारण परीक्षण गरिन्छ। अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई अमेरिकी रकेटमा राख्नु अघि यो पूर्ण रूपमा सक्षम हुन आवश्यक रहन्छ।’

यो वर्षमै रकेटको उडान सम्भव होला भन्ने प्रश्नमा उनले भने, ‘यो अहिले नै भन्नु चाँडो हुन्छ जस्तो मलाई लाग्छ। के कुरा गलत भएको हो भन्ने कुराले भविष्यमा के हुन्छ भन्ने कुराबारे थाहा दिने छ।’

बिबिसि