भारतीय क्रिकेटर हार्दिक पाण्डेयका पिताको आज बिहान निधन
३ माघ, रौतहट । भारतीय क्रिकेटर हार्दिक पाण्डेय र क्रुनाल पाण्डेयका पिताको निधन भएको छ । हार्दिक र क्रुनालका पिता हिमांशु पाण्डेयको हृदयघातबाट शनिबार बिहान निधन भएको हो ।
पिताको निधन भएको खबरपछि हाल सैयद मुश्ताक अली टी २० खेलिरहेका बरोड़ाका कप्तान समेत रहेका क्रुनालले टिम छोडेर घर गएको बरोड़ा क्रिकेट संघका सिइओ शिशिर हत्तगडीले जानकारी दिएका छन् । हार्दिक र क्रुनाललाई सफल क्रिकेटर बनाउन उनका पिताको अहम योगदान रहेको थियो ।
खराब आर्थिक अवस्थाका बीच पैसा जुटाएर उनले दुवै छोरालाई किरण मोरे क्रिकेट एकेडेमीमा पठाएका थिए । हार्दिक र क्रुनालका पिताको निधन भएपछि भारतीय क्रिकेट कप्तान विराट कोहली, सचिन तेन्दुलकर, इरफान पठान, युसुफ पठानलगायतले दुख व्यक्त गर्दै सामाजिक संजालमार्फत श्रद्धान्जली दिएका छन् ।
एजेन्सी