६ लाखको प्रलोभनमा बलात्कारको भुठो मुद्दा दिने युवति पक्राउ

   ३ माघ २०७७, शनिबार १४:१९  

३ माघ, रौतहट । आर्थिक प्रलोभनमा परेर षडयन्त्र गर्दै अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरीले २ युवतिलाई प्रहरीले पक्राउ गरेको छ ।

पौष २८ गते बिहान ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ओखलढुंगाकी एक १७ वर्षिया युवतिले आफुलाई पाँच जना व्यक्तिले सामुहिक बलात्कार गरेको भन्दै उजुरी दर्ता गराउन आइन । ओखलढुंगाबाट काठमाण्डौ जादै गर्दा खुर्कोटमा गाडि बिग्रिएको र सोही स्थानमा बाटोमा बसीरहेको बेला ५ जना व्यक्तिहरुले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुरमा ल्याएको र बलात्कार गरेको आरोप ती युवतिले लगाइन ।

चन्द्रनिगाहपुरको दुई तल्ले एक घरमा आफुलाई बन्धक बनाएर सामुहिक बलात्कार गरेको उजुरी दिए पछि प्रहरीले तत्कालै आरोपित व्यक्तिहरुको खोजतलाश शुरु गरेको थियो । अनुसन्धानको क्रममा युवतिले नाम भनेका आरोपीत व्यक्तिहरुको फोटो पहिचान गरेकी थिइन । सामाजिक संजालबाट झिकिएका फोटोहरु पहिचान भए पछि घटना भएको दिनको आरोपितहरुको मोबाइल लोकेसन प्रहरीले पता लगाउदा उनीहरु सो दिन सिन्धुली, खुर्कोट र चन्द्रनिगाहपुर समेत गएको नदेखिए पछि प्रहरीलाई युवति प्रतिनै शंका लागेको थियो । बन्धक बनाएर राखिएको स्थान यकिन गर्न पठाउदा समेत युवतिले घटनास्थल यकिन गर्न सकिनन ।

“बलत्कृत भएकी भनिएका युवतिको कुरा शंकास्पद लागे पछि अनुसन्धानात्मक सोधपुछ गर्दा ६ लाख रकम पाउने लोभमा अरुलाई फसाउन खोजिएको कुरा खुलेको छ ।” जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले भने “गरुडा २ घर भई हाल काठमाण्डौ बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरी बस्ने निजहरुकै चिनजानका गजेन्द्र भन्ने राम बिश्वास साह कानु समेतको संलग्नतामा योजना बनाई निजको बिपक्षी रहेका गरुडा बस्ने राम निवास साह समेत पाँच जनालाई बलात्कार मुद्दामा फसाउने प्रयास भएको देखिन्छ ।”

जग्गा सम्बन्धी मुद्दामा विपक्षी रहेका राम निवास साह सहित ५ जनालाई झुठो मुद्दामा फसाए बापत ६ लाख रुपैंया नगद र जागिर समेत दिने भन्ने सल्लाह अनुसार योजना बनाएर षडयन्त्र गरेको डिएसपी श्रेष्ठले बताए ।

झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने र बलत्कृत भएको बताउनले दुवै जनालाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।