आज मकर संक्रान्ती

   १ माघ २०७७, बिहीबार १०:१८  

माघ १, रौतहट । आज माघ १ गते । माघको पहिलो दिन आज परम्परागत रुपमा मकर संक्रान्ती मनाइदै छ ।

माघे संक्रान्तिलाई बिभिन्न नामले पुकार्ने गरिन्छ जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति, तिला सङ्क्रान्ति आदि । माघे संक्रान्तिका दिन विभिन्न नदी तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ ।

माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर संक्रान्ति” भनिएको हो भन्ने भनाइ रहँदै आएकोछ । आज देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जान्छ ।

माघे सक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल खाने चलन छ । बिबिध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ ।

तराईका जिल्लाहरूमा यो पर्वलाइ तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउरा, चामलको भुजाका लड्डु लगायतका परिकार बनाएर खाने गरिन्छ । थारु समुदायले आजको दिनलाइ माघी भन्दछ्न । माघी थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गर्दछन् । पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई “निशो” ले पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने चलन छ ।

जाडो याममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने खाध्य सामाग्रीहरुको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।