राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको हिजो राति निधन

   २७ पुष २०७७, सोमबार १३:४९  

 

२७ पुस, रौतहट । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको आइतबार राति निधन भएको छ ।

शाहीको हिजो राति दैलेखमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारलाई उद्धृत गर्दै जानकारी दिएका हुन् । उनको दैलेखमा आइतबार दाहसंस्कार गरिनेछ।

शाही एक साताअघि आफ्नो जन्मथलो दैलेख गएका थिए । विभिन्न स्वास्थ्य समस्याले ग्रसित शाही पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।

सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका शाही नेपालका उत्कृष्ट गोलकिपर मध्येमा पर्छन् । नेपालले सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा उनी टिमका सदस्य थिए।