कैलालीमा कोरोना संक्रमितका कारण थप एक जनाको मृत्यु
२७ पुस, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण कैलालीमा थप एक जनाको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा जिल्लाको धनगढी उपमहानगरपालिकाको ३ मिलन चोकका ८० वर्षीय वृद्ध पुरुष रहेका सेती प्रादेशिक अस्पतालले जनाएको हो । स्वास्थ्यमा समस्या भएपछि उनी एक साता पहिला नै अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।
कडा निमोनिया र श्वास प्रश्वासबाट ग्रसित पुरुषको अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा आइतबार राती उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
योसँगै सेती प्रादेशिकको अस्थायी कोरोना अस्पतालमा कोरोनाका काराण ज्यान गुमाउनेहरुको संख्या ३१ पुगेको छ ।